नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा सहजता आउँछ : गभर्नर अधिकारी

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १५ : ४५
नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा सहजता आउँछ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन ।

आइतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपिसिआई) बीच सम्झौताले नेपाल र भारत डिजिटल कारोबारमा सहजता ल्याउने बताए ।

गभर्नर अधिकारीले नेपाल र भारतका एकै किसिमका संस्थाहरुबीच क्रसबोर्डर डिजिटल पमेन्ट सम्झौता भएको भन्दै नेपाल भारत सीमामा रहेका भुक्तानी समस्या समाधान हुने बताए। उनले नेपालमा डिजिल पेमेन्टको पूर्वाधार निर्माण गर्ने एसिएचएललाई राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने बताए ।

उनले नेपाल र भारतबीच भएको क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले मुख्यगरी भारतबाट नेपाल आउने पर्यटकलाई रहेको पेमेन्टको समस्या हल गर्ने बताए। गभर्नर अधिकारीले नेपालबाट भारत जाने विद्यार्थी,उपचार गर्न जाने बिरामी, पर्यटक र तीर्थयात्रीहरु सबैलाई नोट साट्नुपर्ने बाध्यता हट्ने बताए । उनले अधिकारीले राष्ट्र बैंकले दुई देशबीच हुने डिजिटल भुक्तानीलाई व्यवस्थित बनाउने विषयमा होमवर्क गरिरहेको बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकबाट दिनुपर्ने सहमति स्वीकृतिका लागि सहजिकरण गर्न राष्ट्र बैंकमा छुटै ट्रान्सफोर्सले काम गरिरहेको बताए । उनले क्रसबोर्डर डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने बताए । उनले भारतमा भारत पे लोकप्रिय रहेको भन्दै नेपालमा पनि नेपाल पे ल्याउने तयारी रहेको बताए ।