रेशम चौधरीविरुद्ध मुद्दाको पेशी न्यायाधीश सुष्मालताको इजलासमा

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, ११ : १०
रेशम चौधरीविरुद्ध मुद्दाको पेशी न्यायाधीश सुष्मालताको इजलासमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको  रिटमाथि आज सुनुवाइ हुने भएको  छ। मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ।

यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भइन। टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी छन्।  राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ।

मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका हुन्।

यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्। 

त्यसपछि राष्ट्रपति पौडेलले उक्त फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका थिए। विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।

उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस