आठ बूँदे घोषणापत्र जारी गर्दै युवा रेडक्रस गोष्ठी सम्पन्न

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, २० : १२
आठ बूँदे घोषणापत्र जारी गर्दै युवा रेडक्रस गोष्ठी सम्पन्न

काठमाडौं । काठमाडौं जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी आठ बुँदे तारकेश्वर घोषणापत्र जारी गर्दै आज सम्पन्न भयो । ‘मनैदेखि सेवाका लागि जुनियर तथा युवा’ भन्ने नाराका साथ जुनियर तथा युवा रेडक्रस स्वयंसेवकहरुले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, रक्त सञ्चारका क्षेत्रमा एक घर एक रक्तदाताको अवधारणालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, काठमाडौं जिल्लाभित्रका उपशाखाहरुसँग समन्वय गरी सबै स्थानीय तहहरुमा जुरेस तथा युरेस समिति गठन गर्ने र सो समितिले स्थानीय तहमा हुने रेडक्रस गतिविधिहरुमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने जस्ता प्रतिवद्धताहरु उक्त घोषणापत्रमा समेटिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको आयोजना र कालीदेवी मावि तारकेश्वर–२ काभ्रेस्थलीको आतिथ्यतामा आयोजित यस गोष्ठीमा ४२ विद्यालय तथा महाविद्यालयका जुनियर तथा युवा सर्कलआबद्ध शिक्षक नायकहरु तथा रेडक्रस स्वयंसेवी विद्यार्थीहरुको सहभागिता थियो ।

उक्त गोष्ठीको उद्घाटन तारकेश्वर नपा–२ का वडाध्यक्ष राधाकृष्ण खड्गीले गर्नुभएको थियो । गोष्ठीमा रेडक्रस अभियान र नेतृत्व विकासबारे सहजकर्ता कुशल बस्नेत, रक्त सञ्चार अभिमुखीकरण : नवप्रवर्तनबारे सहजकर्ता कुनाल मिश्रा र जलवायु परिवर्तन तथा अनुकूलनबारे सहजकर्ताहरु प्रतिभा दवाडी, नवीन भट्टराई र वन्दना पोखरेलले प्रशिक्षण दिएका थिए ।

गोष्ठीका अवसरमा ‘नयाँ पुञ्ज’ नामक स्मारिकाको विमोचन पनि गरिएको थियो । यसप्रकारको जिल्लास्तरीय गोष्ठी ५९ वर्षअघि बैतडी जिल्लाको वीरेन्द्र माविमा पहिलोचोटि आयोजना भएको थियो । जुनियर तथा युवा रेडक्रस सर्कलको स्थापना २०२१ साल फागुन २२ गते भएको थियो । 

प्रतिक्रिया दिनुहोस