तराईका जिल्लामा ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १६ : ३९
तराईका जिल्लामा ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । “आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ ।

तसर्थः तराईका भू–भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लूचल्ने सम्भावना रहेको बताए । “विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ ।

नेपालगञ्जलगायत क्षेत्रमा तापक्रम ४० डिग्री हाराहारी छ, यसले गर्मी बढेको छ”, उनले भने ।लू चल्नका लागि लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापत्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ ।

साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस