काठमाडौँ । अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ हुँदैछ ।बुधबारदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा शुरु भएको उक्त महोत्सवको अन्तिम दिन यही जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ३)का अवसरमा ‘अन्नपूर्ण म्याराथन’ हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२ दशमलव १९५ किमी) को म्याराथनमा ५६ जना धावक सहभागी हुनेछन् ।म्याराथनमा विदेशी नागरिक पनि सहभागी हुने समितिका संयोजक गुरुङले बताए। उनका अनुसार म्याराथनमा सहभागी हुनेहरू मङ्गलवारबाट नै अन्नपूर्ण आधार शिविरतर्फको यात्रा थालेका र उनीहरू मङ्गलवार छोम्रोङ, बुधवार हिमालय हुँदै बिहीवार माछापुच्छ्रे आधार शिविरमा पुग्ने कार्यक्रम छ ।
माछापुच्छ्रे आधार शिविरबाट शुक्रवार बिहान ७ बजे धावक अन्नपूर्ण आधार शिविर पुगी म्याराथनका लागि पूर्वाभ्यास गर्नेछन् । जेठ २० (जुन ३) का दिन अन्नपूर्ण आधार शिविरबाट बिहान ७ बजे म्याराथन शुरु भई घान्द्रुकमा आई समापन हुने समितिका संयोजक गुरुङले जानकारी दिए ।
उनका म्याराथनका सहभागी धावकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ ।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले रू एक लाख ५० हजार, द्वितीय हुनेले रू एक लाख र तृतीय हुनेले रू ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १६ : ४२
लेखकबाट थप