समृद्धि प्राप्ति नै गणतन्त्रको सार्थक सन्देश हो : पूर्वअध्यक्ष रेग्मी

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १५ : ५४
समृद्धि प्राप्ति नै गणतन्त्रको सार्थक सन्देश हो : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले कम खर्चिलो ढङ्गले राज्य सञ्चालन गर्दै संविधानले प्रत्याभूति गरेका सेवा सुविधा जनतालाई सहजरुपमा प्रवाह गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् । राष्ट्रिय समाचार समिति द्वारा आयोजित ‘हाम्रो संस्कृतिस् हाम्रो सम्पदा’ विषयक तस्वीर प्रदर्शनीको अवलोकनका क्रममा उनले जनताको जीवनस्तरमा सुधार ल्याउन मुलुक विकासको आधारभूत ढाँचालाई जनसहभागितामूलक बनाएर लैजान आवश्यक रहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “राष्ट्र निर्माणमा जनतालाई सँगसँगै लैजाने प्रणालीको विकास गर्न अहिलेको अभ्यास र ढाँचामा धेरै सुधार आवश्यकता छ । लोकतन्त्रमा जनता सार्वभौमसम्पन्न र सर्वोपरी हुन भन्ने बुझन जरुरी छ ।” सरकार, राजनीतिक दल र समाजका अगुवालाई सेवा प्रवाह, विकास र समृद्धिका मामिलामा उदाहरणीय बनाउदैँ लैजानुपर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले देश र जनतालाई समृद्धिको यात्रामा डोहोर्याउने प्रभावकारी प्रयत्न हुनुपर्नेमा जोड दिए ।

विस २०७० को संविधानसभाको दोस्रो निर्वाचन उनको नेतृत्वको सरकारले सम्पन्न गरेको तथा सोही सभाले जारी गरेको संविधान हाल कार्यान्वयनको चरणमा छ । पूर्वअध्यक्ष रेग्मीले भने, “सार्वभौमसम्पन्न जनताको अपेक्षा के थियो र यसबीचमा राजनीतिक दलले त्यसलाई कसरी सम्बोधन गर्नसके भन्ने विविध खाले प्रश्न उठेको छ। बुद्धिजीवीले पनि विभिन्न कोणबाट त्यसलाई विश्लेषण गरिरहनुभएको छ ।”

नयाँ प्रणालीको अभ्यासका क्रममा भएका कतिपय कमिकमजोरीलाई सुधार गर्दै जनता र मुलुकलाई समुन्नत गर्नसके मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता हुने बताउँदै उनले  विभिन्न आन्दोलन, द्वन्द्वदेखि समाजलाई रुपान्तरण, विकास र समृद्धिको प्राप्ति नै गणतन्त्रको सार्थक सन्देश भएको उल्लेख गरे । फोटो प्रदर्शनीले विभिन्न समुदाय, धर्म, संस्कृति, वेशभूषा, कला जस्ता धरोहरलाई प्रवर्द्धन र विकासलाई योगदान दिने बताउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले संस्कृति भनेकै पहिचान भएकाले त्यसको संरक्षण गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस