महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

रासस

मंगलबार, १६ जेठ २०८०, ११ : ४४
महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

भोजपुर ।  उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन् ।

पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको रु ११ लाख बढी रकम नतिरेको कारण नेपाल विद्युत् प्राविधिकरण भोजपुर वितरण केन्द्रले आयोजनामा जडान गरिएको विद्युत् लाइन काटिदिएको उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले जानकारी दिए ।

“पानी सञ्चालनको क्रममा उठेको महसुल तिर्न नसक्दा विद्युत् काटिएको अवस्था छ”, उनले भने, “विद्युत् काटिँदा स्थानीयलाई एक महिना बढी समयबाट पानी खुवाउन सकेका छैनौँ । प्राधिकरणसँग पुनः विद्युत् जडानका लागि पहल गरिरहेका छौँ ।”

अवरोध भएको पानीलाई पुनः सञ्चलानमा ल्याउन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उपभोक्ताबीच छलफल गरिएको छ । त्रिपक्षीय छलफलबाट पानीलाई नियमितरूपमा सञ्चालन गर्न पुरानो समितिलाई विघटन गरेर अर्को समिति गठन गर्ने निर्णय भएको छ ।

पुरानो समितिले आयोजना सञ्चालनका क्रममा भएको आयव्ययको वितरण हालसम्म जानकारी नगराएको स्थानीयले बताएका छन् । पन्ध्र दिनको सूचना जारी गरी आगामी जेठ २७ गते साधारणसभामार्फत नयाँ समिति गठन गर्ने निर्णय भएको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक तामाङ काठमाडौँमा रहेका कारण कामलाई सहजरूपमा सञ्चालन गर्न समस्या हुँदै आएको उनको भनाइ छ ।

“पानी नियमितरूपमा दिन सकिएको छैन”, उनले भने, “आर्थिक तथा प्राविधिक समस्या देखापरेका छन् । समितिको अध्यक्ष काठमाडौँमा हुनुहुन्छ । आजको भेलाले समिति परिवर्तन गर्ने निर्णय गरेको छ । नयाँ समिति गठन गरेपश्चात थप काम गर्न सहज हुने आशा गरेका छौँ ।”

हाल भएको समितिले व्यवस्थित ढङ्गले पानी खुवाउन पहल गर्न नसकेको स्थानीयवासी तिलाचन तामाङले बताए । योजना सञ्चालनका क्रममा भएको खर्चको विषयमा हालसम्म समितिले स्थानीयलाई कुनै जानकारी दिन नसकेको उनको भनाइ छ । “उपभोक्ता समिति जिम्मेवार बन्न नसक्दा स्थानीय पानी खानबाट बञ्चित भएका छन्”, उनले भने, “यो आयोजनालाई सहजरूपमा सञ्चालन गर्न सबैले भूमिका खेल्न आवश्यक छ । आगामी दिनका कामलाई व्यवस्थितरूपमा सञ्चालन गर्न समिति पुनःगठन गर्ने सहमति भएको छ ।”

योजना सञ्चालनमा उपभोक्ता समिति गम्भीर नहुँदा स्थानीय पानीको मारमा परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । समितिले यहाँ हुने गरेका समस्याको विषयमा कार्यालयसँग समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए । यसअघि यहाँको स्थलगत अनुगमन गरेर देखिएका समस्याको समाधानमा छलफल गरेको भए पनि समितिले खास चासो नदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस