चितवनका पत्रकार अनिल ढकाललाई ‘ विकास पत्रकारिता पुरस्कार’ प्रदान

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १६ : ३७
चितवनका पत्रकार अनिल ढकाललाई ‘ विकास पत्रकारिता पुरस्कार’ प्रदान

चितवन। चितवनका पत्रकार अनिल ढकाल विकास पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन् ।अन्नपूर्ण पोष्ट दैनिकका चितवन सम्बाददाता ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका हुन् ।ढकाललाई १६ औं गणतन्त्र दिवस–२०८० को अवसरमा विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पश्चिम चितवनमा जन्मिएर दुई दशकदेखि पत्रकारितामा सक्रिय ढकाललाई नगद २० हजार रुपैयाँ सहितको पुरस्कार प्रदान गरिएको छ ।

मुख्यमन्त्रीको कार्यालय हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुरस्कार दिएका छन् । ढकालसँगै बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामीण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट नुवाकोटका शक्तिमाया तामाङ र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्न पुरस्कृत भएका छन् । पत्रकारितामा योगदान गरेर पनि ओझेलमा परेकाहरुको कदर गरेर पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक एवम् प्रेस रजिस्टार रेवती सापकोटाले बताए ।

‘नेपालका आधा पत्रकारको कार्यक्षेत्र रहेको बागमती प्रदेशको १३ वटै जिल्लामा कार्यरत पत्रकारले आफ्नो प्रदेशको अनुुभूति गर्न सक्ने गरी प्रदेश सरकारले सम्मान गरेको छ’ सापकोटाले भने ‘ओझेलमा परेका, अरुले नदेखेका, आफनो कर्मक्षेत्रमा निरन्तर खटिइरहेका, पत्रकारिता पेसालाई आफनो जिम्मेवारी र दायित्व सम्झिएका सबैको अधिकतम् प्रतिनिधित्व हुने गरी छनौट गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस