रुस र बेलारुससँग जोडिने मुलुकहरूलाई आणविक हतियार दिने लुकाशेन्कोको दाबी

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १४ : ३८
रुस र बेलारुससँग जोडिने मुलुकहरूलाई आणविक हतियार दिने लुकाशेन्कोको दाबी

एजेन्सी।बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुस–बेलारुस संयुक्त राज्यसँग जोडिन चाहने मुलुकलाई आणविक हतियार दिइने बताएका छन् । रुसले बेलारुसलाई सीमिति दायराको ट्याक्टिकल आणविक हतियार दिन थालेको पुष्टि भएको केही दिनपछि लुकाशेन्कोको भनाइ आएको हो । लुकाशेन्को रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार हुन् ।

आइतवार रसिया १ नामक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यी टिप्पणीहरू गरेका हुन् । अन्तर्वार्ताका क्रममा लुकाशेन्कोले बताए, ‘रुससँग हामीले कायम गरेको जस्तो निकट सम्बन्ध कजाकस्तान तथा अन्य मुलुकहरूले पनि राख्दा कसैले मतलब गर्दैन ।’‘यो एकदमै सरल कुरा हो,’ उनले थपे । ‘बेलारुस र रुस संयुक्त राज्यमा जोडिनुस् । त्यति गरे पुग्छ ः सबैका लागि आणविक हतियार उपलब्ध हुनेछ ।’

सन् १९९९ मा बेलारुस तथा रुस संयुक्त राज्य स्थापना सम्बन्धी सम्झौता गरिएको थियो । यसले दुई देशबीच आर्थिक, सूचना, प्रविधि, कृषि र सीमा सुरक्षा लगायतका विषयमा गरिने साझेदारीलाई समेटेको थियो । आफूसँग विचार मिल्ने साझेदारहरूलाई आणविक हतियार दिइने भनी लुकाशेन्कोले गरेको टिप्पणीले आणविक अप्रसार पहलमा धक्का लाग्ने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस