'रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनतालाई प्रश्रय दियो'

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १० : ४९
'रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनतालाई प्रश्रय दियो'

काठमाडौँ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन्।

क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने उनले बताए।  अध्यक्ष अर्यालले रेशम चौधरीलाई आम माफी दिनु भनेको देशमा कानुनको उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने सन्देश पुग्ने बताए।

उनले भने, ‘सर्वोच्च अदालतले पनि यो जघन्य अपराध हो, यो मिनाहा हुन सक्दैन भनेको अवस्थामा झनै मिनाहा गर्नसक्ने विषय होइन यो। यसले आउने दिनमा राम्रो परिणाम ल्याउँदैन। तत्कालको राजनीतिक फाइदाका लागि, तत्कालिन राजनीतिक लाभको लागि यस्ता घटनामा जसरी मुद्दा फिर्ता लिने प्रचलन बढ्दै गएको छ, त्यसले दण्डहीनतालाई प्रश्रय दिएको छ। इन्सेकले आफूले गरेको अभिलेख र सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा यस्तो गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई यसरी आममाफी दिनु हुँदैन।’

अध्यक्ष अर्यालले नागरिक समाजले यसको बिरुद्धमा सरकारलाई दबाब दिनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस