सरकारले सार्वजनिक संस्थानमा थप्यो ५१ अर्ब लगानी

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, १७ : ५७
सरकारले सार्वजनिक संस्थानमा थप्यो ५१ अर्ब लगानी

काठमाडौ । सरकारले एक वर्ष अन्तरालतमा सार्वजनिक संस्थानहरुमा ५१ अर्ब लगानी थपेको छ।

उत्पादन तथा व्यपार बढाउनुपर्ने र केही रुग्ण उद्योगको प्रशासनिक दायित्व समेत रहेकोले लगानी थप भैरहेको अर्थमन्त्रालयले जानकारी दिएको छ।  

अर्थ मन्त्रालयले जारी गरेको सर्वजनिक संस्थानको प्रगति प्रतिवेदन अनुसार जलविद्युत उत्पादन तथा प्रसारण, विभिन्न विकास पूर्वाधार निर्माण विमानस्थल निर्माण, दूरसञ्चार, खानेपानी आयोजना सञ्चालन लगायतका ठूला पूर्वाधार सञ्चालन गर्ने क्रममा सार्वजनिक संस्थानमा सेयर र ऋणमा लगानी निरन्तर बढ्दै गएको हो।

हाल सञ्चालनमा नरहेका सार्वजनिक संस्थानको सम्पत्ति सुरक्षाका लागि केही सुरक्षाकर्मी र कर्मचारी राख्नुपर्दा प्रशासनिक खर्चका लागि समेत नेपाल सरकारबाट लगानी गर्नुपर्ने भएकोले पनि ऋण तथा सेयर लगानीमा वृद्धि हुँदै गएको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

अर्थ मन्त्रालयले भनेको छ,‘ सार्वजनिक संस्थानमा सरकारको लगानी आर्थिक वर्ष २०७७।७८ मा  ५ खर्ब ६७ अर्ब २८ करोड ८६ लाख रहेकोमा आर्थिक वर्ष २०७८।७९ मा ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख भई ८ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ।’

यसमा सेयरको अंश ५३ दशमलव २० प्रतिशत अर्थात् ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख) तथा ऋणको अंश ४६ दशमलव ७९ प्रतिशत अर्थात् २ खर्ब ८९ अर्ब २४ करोड रहेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सेयर तथा ऋण लगानीमा वृद्धि हुनुमा सेयरतर्फ आव २०७८।७९ मा नेपाल विद्युत प्राधिकरणलाई नेपाल सरकारले वित्तीय व्यवस्था अन्तर्गत प्रदान गरेको ऋणको ब्याजलाई शेयर लगानीमा परिणत गरिनु, नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजना र दोश्रो विमानस्थल आयोजना समेतका लागि नेपाल सरकारबाट सेयरको रूपमा लगानी प्रवाह गरिनु नै प्रमुख कारणको रूपमा रहेको बताएको छ।

त्यस्तै गरी ऋण लगानी वृद्धि हुनुमा नेपाल आयल निगम, नेपाल खानेपानी संस्थान, नगरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणलाई क्रमशः पेट्रोलियम पदार्थ खरिदको बक्यौता भुक्तानी, खानेपानी उत्पादन वृद्धि कार्यक्रम, हवाई यातायात क्षमता अभिवृद्धि आयोजना तथा जलविद्युत उत्पादन तथा प्रसारणका पूर्वाधार निर्माणका लागि रकम प्रवाह भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस