रेशम चौधरीलाई आममाफी दिने निर्णय स्वीकार्य छैन: एमाले नेता बर्तौला

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, १७ : ३३
रेशम चौधरीलाई आममाफी दिने निर्णय स्वीकार्य छैन: एमाले नेता बर्तौला

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्।

उनले सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउन सरकारले सो काम गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस निर्णयले पीडितलाई थप पीडित बनाउने बताए। सरकारले कानुनी राज‍्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको पनि उनले बताए। 

‘कतिपय अवस्थामा सरकारले चाहेको अवस्थामा सजाय माफी दिनसक्छ। तर व्यवस्थालाई दुरूपयोग गरेर, कानूनी राज्यलाई खिल्ली उडाउँदै कानूनी शासन, विधिको शासन, त्यसलाई कमजोर बनाउने गरी सबै हिंसाका घटनालाई सत्तासँग जोड्ने, राजनीतिसँग जोडने, उन्मुक्ति दिँदै जाने। यसले कस्तो नजिर बस्नसक्छ ? त्यसकारण यो विषयमा गम्भिरताका साथ सरकारले ख्याल पुर्‍याउनु पर्छ,’ उनले भने। 

यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि ख्याल गरी निर्णय लिन उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस