सिँचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव छैन : प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १५ : १९
सिँचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव छैन : प्रमुख  दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताएकी छन। खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वाषिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाईको व्यवस्था हुनुपर्ने उल्लेख गरिन्।

भरतपुरमा सिँचाईको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालिन र वैकल्पिक व्यवस्थाका लागि कामहरु अगाडि बढाईएको बताइन् । प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले प्रयाप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उनको भनाई थियो ।

कृषिमा जति नै आधुनिकिरण, यन्त्रीकिरण गरेपनि सिँचाई अनिवार्य हुनुपर्ने औल्याए। भरतपुरका मुख्य सिँचाई आयोजना नारायणी लिफ्ट र खगेरी सिँचाईले पश्चिम चितवनमा सिंचित गर्न नसक्दा कृषकहरु मर्कामा परेको बताइन् ।

नारायणी लिफ्ट सिँचाईको जिर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात १२ महिना सिँचाईको व्यवस्था हुने प्रमुख दाहालले बताइन्।

पश्चिम चितवनको सुख्खागस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई  २१ सय हेक्टरमा सिँचाईको सुविधा रहेको बताइन् । प्रमुख दाहालले अहिले एक खेती पनि नहुने ठाँउमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताइन्।

भूमिगत सिँचाई परियोजनाले भरतपुरको ९ हजार हेक्टरमा सिँचाई पुराउने लक्ष्यसहित धमाधम कामहरु भएकाले लगभग ४ वर्षभित्र सबै ठाँउमा सजह रुपमा सिँचाई उपलब्ध हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस