चीन भ्रमणमा रहेका माओवादी नेता र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १२ : ४१
चीन भ्रमणमा रहेका माओवादी नेता र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । उनीहरूबीच सुरुमा एक्लाएक्लै र त्यसपछि समूहमा छलफल भएको छ ।

दुईपक्षीय छलफल दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा केन्द्रित भएको बताइएको छ । भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएको र जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए ।

यही जेठ ५ गते सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी टोली चीन प्रस्थान गरेको थियो । सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण सम्पन्न गरी प्रतिनिधि मण्डल १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस