काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताए । घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर पाउने दाबी गरे ।
सञ्चयकोषले यसअघि माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी, मध्यभोटेकोशी जस्ता आयोजना लगानी गरिसकेको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९ दशमलव आठ मेगावाट क्षमताको आयोजनामा कोषले रु १३ अर्ब ७४ करोड बराबरको लगानी गर्ने भएको हो । निर्माण अवधिको ब्याजसहित रु २१ अर्ब १४ करोड बराबरको अनुमानित लागत रहेको आयोजनामा कोषले एकलरुपमा नै लगानी गर्न लागेको हो ।
जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई शेयर बिक्री गरेर स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको बताउँदै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युत्को उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए । उनले खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयास भइरहेको पनि बताए ।
प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनामा रु ४० अर्बभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए । उनले निर्धारित समय र लागतमा निर्माण सम्पन गरी आयोजनालाई नमुना बनाइनुपर्नेमा जोड दिए । कम्पनीका सिइओ भण्डारीले आयोजनाको निर्माण चारभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या : कुलमान घिसिङ
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ