निःशुल्क उपचार लिएकाहरूको विवरण महानगरमा पठाउन बालेन शाहको निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १२ : ४९
निःशुल्क उपचार लिएकाहरूको विवरण महानगरमा पठाउन बालेन शाहको निर्देशन

काठमाडौं।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले लक्षित वर्गले प्राप्त गरेको निःशुल्क स्वास्थ्य उपचार सेवाको विवरण पठाउन निर्देशन दिएका छन् ।निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरमा बुझाउन उनले अस्पताललाई निर्देशन दिएका हुन् ।​महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यान्वयन गर्न आग्रह गर्दै प्रमुख शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गर्नुपर्ने र प्रत्येक महिना उक्त विवरण महानगरमा उपलब्ध गराउन भनेका छन् ।

“स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गका विरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न आग्रह गर्दछु । यो विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउनु पर्नेछ । यसरी विवरण नपठाए काठमाडौं महानगरपालिकाबाट नियमानुसार कारवाही हुनेछ”, प्रमुख शाहले भनेका छन् ।

यही जेठ २ गते महानगरको स्वास्थ्य विभागले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पालना गर्न सूचना जारी गरेको थियो । जसअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या निःशुल्क छुट्याउनुपर्छ । यस्तै, विभागले जारी गरेको सूचनामा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, कर्मचारीलाई न्यूनतम् पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र अस्पतालभित्रका चमेना गृहमा खाद्य गुणस्तर कायम राख्न सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस