सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १० : ४६
सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार विस्तार हुँदैछ । शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरेपछि रोकिएको थियो ।

आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले शनिबार बिहानसम्मको समय मागेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ ।

माओवादी केन्द्रको भागमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ । माओवादीबाट रमेश धामी र झपट साउद मन्त्री बन्ने निश्चित भएको छ । यस्तै,माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने निश्चित भएपनि मन्त्रालय टुंगो लागेको छैन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशसभा बैठक शनिबार बस्दैछ । बैठक दिउसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभा बैठक करिब अढाई महिना पछि बस्न लागेको हो । यसअघि २१ फागुनमा प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस