सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०८२, १५ : ४७
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक गरेको छ । नेकपा एमालेको समर्थनमा २०८१ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहको नेतृत्वमा बनेको सरकारको एक वर्ष पूरा भएको अवसरमा ३५ बुँदे उपलब्धिहरू घोषणा गरिएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको सभा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले एक वर्षे कार्यकालमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री शाहले सरकार सञ्चालनका क्रममा अनेक चुनौती र कठिनाइहरूकाबीच पनि ७०.२२ प्रतिशत खर्च कार्यान्वयन गर्न सफल भएको दाबी गर्दै यो प्रदेश सरकारको हालसम्मकै उच्च वित्तीय प्रगति भएको बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ५१.६ प्रतिशत अंक प्राप्त गर्दै देशभर पहिलो स्थान हासिल गरेको समेत प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले ‘साक्षर नेपाल’ अवधारणा पत्र लागू गरेपछि १५ देखि ६० वर्ष उमेर समूहका औसत ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै सुदूरपश्चिमलाई साक्षर प्रदेश घोषणा गरिएको छ। नौ वटै जिल्लाको साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेको जनाइएको छ । बाजुरामा साक्षरता दर ९७.३१ प्रतिशत पुगेको जनाइएको छ भने डडेल्धुरामा ९८.८ प्रतिशत रहेको छ ।

एक वर्षको अवधिमा ३५५ किलोमिटर सडक निर्माण गरिएको जनाइएको छ, जसमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल र १४६ किलोमिटर कच्ची सडक रहेको छ । सिँचाइ प्रणालीबाट १६२८ हेक्टर जमिनमा नयाँ सुविधा थपिएको र १३ हजार ९४७ हेक्टरमा मर्मत गरिएको उल्लेख छ। बाढीबाट बस्ती र खेत जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण गरिएको जानकारी दिइएको छ ।

खानेपानीका क्षेत्रमा ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २१३३ किलोमिटर पाइपलाइन जडान र ११,९३९ निजी धारा स्थापनासँगै एक लाख तीन हजारभन्दा बढी जनसङ्ख्यामा खानेपानी सेवा विस्तार गरिएको छ । आइडिए परियोजनाअन्तर्गत कैलाली र डोटीका चार स्थानीय तहमा झन्डै १३ अर्बको लागतमा खानेपानी आयोजना सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस