मधेस प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, २० : ४९
मधेस प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ। शुक्रबार काठमाडौंमा भएको सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकमा तत्काल वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति भएको हो।

उपचुनावपश्चात् नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतसहितका दलले प्रदेश सरकारको नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए। सोही विषयमा दलहरूबीच कुरा नमिलेपछि लामो समयदेखि प्रदेश सरकार विस्तार हुन सकिरहेको थिएन। सरकारको विषयमा सहमति भएपछि अब दलहरूबीच मन्त्रालयको भागबन्डा गर्ने जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादवलाई नै दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनिवास बालुवाटारमा भएको पाँच दलका शीर्ष नेताहरूको बैठकमा तत्काल मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए। बैठकमा दलहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिसमेत भएको उनले बताए।

दलहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि कुन–कुन पार्टीले ? कति–कति समय नेतृत्व गर्ने ? लगायतका विषयमा अर्को बैठकमा निर्णय हुने नेता शर्माले बताए। बैठकमा जनमत पार्टीका प्रतिनिधि  सहभागी नभए पनि जनमतलाई पनि सरकारमै राख्न दलहरू सहमत भएका नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए।

प्रतिक्रिया दिनुहोस