सेभिया र रोमा युरोपा लिगको फाइनलमा

एजेन्सी

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ४५
सेभिया र रोमा युरोपा लिगको फाइनलमा

काठमाडौँ । युरोपा लिग फुटबलको फाइनलमा स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमाबिच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार राति भएको खेलमा इटालियन क्लब रोमाले सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर लिभरकुसनसँग गोलरहित बराबरी खेल्दै समग्रमा १-० को जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो।

त्यस्तै, बिहीबारनै भएको अर्को सेमिफाइनलमा युभेन्ट्स पहिलो लेगको अग्रता जोगाउन नसक्दा सेभियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स अतिरिक्त समयमा स्पेनिस क्लब सेभियासँग २-१ ले तथा समग्रमा ३-२ ले पराजित हुँदै बाहिरिएको हो।

बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा रोमा घरेलु टोलीसँग दबाबमा परेपनि गोल खानबाट भने बचेको थियो। रोमाले पहिलो लेगमा १-० को जित निकालेको थियो।

त्यस्तै, सेभिया सातौं पटक युरोपा लिगको फाइनलमा पुग्ने क्रममा रोमन सान्चेज पिजुवानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सुसो र एरिक लमेलाले गोल गरे। युभेन्ट्सका डुसान भ्लाहोभिचले गरेको गोल सान्त्वना बन्यो।

खेलको ६५औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए। ७१औं मिनेटमा सुसोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।

९५औं मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियालाई फाइनलमा पुर्याएका थिए। ११५औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिन पुग्यो। मार्कास एकुना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि युभेन्ट्सले त्यसको फाइदा उठाउन सकेन।

अब रोमा र सेभियाबीच ३१ मेमा पुस्कास एरिना हंगेरीमा हुने छ। सेभिया अघिल्ला सबै ६ फाइनलमा विजयी भएको छ। रोमा प्रशिक्षक जोसे मौरिन्होको प्रशिक्षणमा उपाधि जित्ने लक्ष्यमा रहेको छ।

प्रतिक्रिया दिनुहोस