शेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १५ : ४७
शेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार

 काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका छन् ।

बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ७३ करोडमा झरेको थियो । मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

मंगलबार कारोबार भएकामध्ये एनआईसी एशिया बैकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको करिब २ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको करिब २ करोड १७ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर छ । मंगलबार कारोबार भएका कम्पनीहरुमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत भएर मंगलबारबाट मात्रै दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । नेप्सेले तोकेको ओपनिङ रेञ्जको माथिल्लो सीमामा ओपनिङ कारोबार भएको कम्पनीको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको हो ।

प्रतिक्रिया दिनुहोस