काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लाखौँ रुपैयाँ असुलेर अमेरिका पठाउने योजनाबद्ध ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जना दोषी ठहर भएका छन्।
तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले अगाडी बढाएको यो अनुसन्धान प्रक्रियाले तीन वर्षपछि निर्णायक मोड लिएको हो ।
बहुचर्चित यस मुद्दामा पूर्वमन्त्रीद्वय दोषी ठहर भएपनि अझै एउटा महत्त्वपूर्ण अध्याय बाँकी छ । त्यो हो- अब उनीहरूले अन्ततः कति वर्ष जेल सजाय भोग्नुपर्छ ? वा उनीहरुमाथीको सजायाँ अब के हुन्छ ? काठमाडौं जिल्ला अदालतले मंगलबार फैसला सुनाउँदै रायमाझीलाई मुख्य अभियुक्तका रूपमा र खाँणलाई मतियारका रूपमा दोषी ठहर गरेको हो। तर अदालतले तत्काल सजाय निर्धारण नगरी त्यसका लागि छुट्टै सुनुवाइ तोकेको छ। अदालतका अनुसार अब साउन २९ गते बस्ने इजलासले दोषी ठहर भएका सबै प्रतिवादीमाथि हुने सजायको टुंगो लगाउनेछ।
यससँगै अहिले सबैको चासो एउटै विषयमा केन्द्रित भएको छ, त्यो भनेकै जेलमा रहेका पूर्व उपप्रधानमन्त्री समेत भईसकेका टोपवहादुर रायमाझीले अब कति वर्ष कैद सजाय भोग्नुपर्ने हो ? धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण अब तुरुन्तै जेल जानुपर्ने हो कि होइन ? र यदि जानुपरे कति अवधिका लागि ? यी सबै प्रश्नको जवाफ अदालतको आगामी सजाय निर्धारण गर्ने आदेशसँगै स्पष्ट हुनेछ।
रायमाझी यसअघि नै पुर्पक्षका क्रममा थुनामा रहेका कारण उनी अहिले पनि जेलमै छन्। अदालतले सजाय तोकेपछि उनले बाँकी कैद अवधि त्यहीअनुसार भोग्नेछन्। उता, धरौटीमा छुटेका खाँण भने दोषी ठहर भइसके पनि सजाय निर्धारण नभएसम्म स्वतः जेल जानुपर्ने अवस्था हुँदैन। अदालतले सजाय सुनाएपछि मात्र उनलाई कैद सजाय कार्यान्वयनका लागि उपस्थित गराइने कानुनी प्रक्रिया अघि बढ्नेछ।
यो मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले विस्तृत फैसला सुनाएको हो। अदालतले पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा।
इन्द्रजित राई, शरणार्थी नेता टेकनाथ रिजाल तथा बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेललाई पनि दोषी ठहर गरेको छ। कुल ३१ प्रतिवादी रहेको यस मुद्दामा सात जनाले भने सफाइ पाएका छन्। सफाइ पाउनेमा रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासहित रामशरण केसी, टंकबहादुर गुरुङ, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकी रहेका छन्।
बाँकी आठ प्रतिवादी अझै फरार छन्। अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, बिनिता साम्देन लिम्बू र सुनील बुढाथोकी अदालतमा उपस्थित नभएकाले उनीहरूको मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरू पक्राउ परेपछि वा अदालतमा उपस्थित भएपछि मात्र उनीहरूको हकमा सुनुवाइ अघि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०८३, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. कोइराला निवास पुगे बालकृष्ण खाँण