संसदमा टि-सर्ट र जिन्स लगाउन रोक्‍नु नयाँ पुस्तामाथिकै रणनीतिक हमला : सुमना श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १५ : ०३
संसदमा टि-सर्ट र जिन्स लगाउन रोक्‍नु नयाँ पुस्तामाथिकै रणनीतिक हमला : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले पोशाकको विषय उठाएर नयाँ पुस्तालाई निरुत्साहित गर्न खोजेको बताएकी छन् । प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको बैठकले संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध लगाउने र सांसदले लोगो अनिवार्य लगाउनुपर्ने निर्णय आइतबार गरेको छ ।

रास्वपाका सांसदलाई ‘बच्चा’ भनिएको प्रति उनले आपत्ति जनाएकी छन् । कांग्रेस सांसद आरजु राणाले सञ्चार माध्यममा अन्तर्वार्ताको क्रममा रास्वपा सांसद तोसिमा कार्कीलाई बच्चाको संज्ञा दिएकी थिइन् । ‘टि-सर्ट र जिन्स’ लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएको प्रति उनले प्रतिवाद गरिन् ।

‘हामी सही बाटोमा छौं । चकडीवादबाट टाढिएर, पहिरनको मर्यादाबाट निस्किएर कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, राजनीतिक प्रवचनमा समेत जवाफदेहिताको कठिन प्रश्न सोधेर अगाडि बढेको नयाँ पुस्तामाथि यो रणनितिक हमला हो,’ सांसद सुमनाले प्रतिनिधिसभाको भनेकी छन्।

व्यक्तिगत आक्रमण, नानाथरी नाम बोलाउने र धेरै देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गर्ने कार्य भइरहेको उनले बताइन्। ‘हामीलाई हामी जस्तो देखिने, हामीजस्तै सोच्ने, झुटा नैतिकताका ठूला-ठूला भाषणहरूबाट थाकेका मानिसहरूको आवश्यकता छ। परिवर्तनको यो आन्दोलन, भ्रष्टाचारलाई जरैदेखि उखेल्ने आन्दोलन, नेपालको भविष्य हेर्न चाहनेहरू विरुद्धको यो आन्दोलनमा सामेल हुन जरुरी छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस