बार्सिलोना बन्यो स्पेनिस ला-लिगा च्याम्पियन

एजेन्सी

सोमबार, ०१ जेठ २०८०, ०७ : ११
बार्सिलोना बन्यो स्पेनिस ला-लिगा च्याम्पियन

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस लालिगाको जारी सिजनको उपाधि जितेको छ। बार्सिलोनाले २०१८-१९ को सिजनपिछि पहिलो पटक च्याम्पियन बनेको हो।

यो बार्सिलोनाको २७ औँ लालिगा उपाधि हो। उसले लिगको चार खेल बाँकी हुँदै उपाधि जितेको हो।

बार्सिलोनाले उपाधि जित्ने क्रममा आइतबार राति भएको खेलमा स्पानियोललाई ४-२ ले पराजित गर्यो। पहिलो हाफमानै ३ गोल गरेको बार्सिलोनाले ५३ औ मिनेटमा ४-० को अग्रता बनाएको थियो। खेलको अन्ततिर स्पानियोलका लागि पौडो र जोसेलुले समान १-१ गोल गरेपनि अङ्क खोस्न पर्याप्त भएन।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दै सिजनमा आफ्नो गोल संख्या २० पुर्याएका छन्। त्यस्तै अलेजान्द्रो बाल्डेले १ गोल गर्दा अर्को एक गोल जुलेस कौउन्डेसको नाममा रह्यो। बार्सिलोनाले उपाधि जित्ने क्रममा ३४ खेलमा २७ खेलमा जित निकाल्यो।

बार्सिलोनाले ३४ खेलबाट ८५ अङ्क बनाएको छ। बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अङ्कले अघि छ। मेसीले क्लब छोडेपछि बार्सिलोनाले पहिलो पटक उपाधि जितेको हो।

गत नोभेम्बरमा जावीलाई क्लबमा भित्राएपछि बार्सिलोनाको पहिलो उपाधि हो। बार्सिलोनालाई जाबीले नयाँ आत्माविश्वास भर्दै पुन:च्याम्पियन छवि फर्काउन सफल भए।

बार्सिलोनासँग पराजित स्पानियोल भने रेलिगेशन संकटमा छ। ३४ खेलबाट ३१ अङ्कका साथ १९ औँ स्थानमा रहेको छ।