संक्रमणकालीन विधेयकबारे तीन दलबीच सहमति

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १४ : ०१
संक्रमणकालीन विधेयकबारे तीन दलबीच सहमति

काठमाडाैँ । संघीय संसद्‌का समिति सभापति चयन गर्ने र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र संसद्‍को ठूलाे दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेकाे छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा सहमति जुटेको हाे । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र प्रतिनिधिसभाकाे एक थप समितिकाे सभापति एमालेबाट हुने सहमति भएको हाे ।

बाँकी आठ समितिका सभापति सत्तारूढ दलहरूबाट हुने सहमति भएको बताइएको छ । 'यसअघि सार्वजनिक लेखा र राज्यका निर्देशक सिद्धान्त संयुक्त समिति अनि अर्को एक प्रतिनिधिसभा समिति लिने कुरा भयाे । संसदीय सुनुवाइ समिति कांग्रेसले सभापति लिने कुरा भयाे । संसदीय सुनुवाइ समितिमा नाम दिने सहमति भयाे । विषयगत समितिकाे काम भाेलिदेखि नै अगाडि बढाउने कुरा भयाे,' नेम्वाङले भने, 'जति पनि विधेयक समितिमा गएका छन् प्रक्रियाअनुसार अगाडि बढ्छ । संक्रमणकालीन विधेयक कानुन समितिमा गएकाे छ । त्याे समितिले उपसमिति बनाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने कुरा भएको छ । अरू विधेयक प्रक्रियामा अगाडि बढ्ने कुरा भएको छ । यी कामका सन्दर्भमा समस्या वा थप छलफल गर्नुपर्ने भए सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले छलफल गरेर मिलाउने कुरा भएको छ ।'

संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि मिलाएर अगाडि लैजाने सहमति भएको नेम्वाङले जानकारी दिए । संवैधानिक परिषद् विधेयकमा पुरानै व्यवस्था राख्ने सहमति भएको उनले बताए ।

'संविधानका आधारभूत विषय कार्यान्वयन गर्न सत्ता र प्रतिपक्षबीच समझदारी हुनुपर्छ । बीचमा याे कुरा भत्किएको थियाे । त्यसै सन्दर्भमा विशेषतः संसद्काे काम अड्किएकाे जस्तो थियाे र त्यसलाई अगाडि बढाउन ठाेस पहल भएकाे छ,' उनले भने, 'संवैधानिक परिषद्‍मा अप्ठ्यारो थियाे । त्यसपछि अध्यक्ष ओलीले मिलाएर लैजाउँ भन्नुभएको छ । प्रधानमन्त्रीले पनि मिलाएर जान तयार हुनुहुन्छ भन्ने भयाे । पुरानै कुरा लैजान तयार हुनुभयो दुबै पक्ष । समितिहरूका कामलाई पूर्ण क्षमतामा अगाडि बढाउन सहमति भएको छ । भाेलिदेखि ज्येष्ठ सदस्यहरूले समिति काम अगाडि बढाउने सहमति भएको छ ।'

प्रतिक्रिया दिनुहोस