भरतपुर महानगरपालिकाद्धारा १ सय २६ छात्राहरुलाई साईकल वितरण

सुजन अधिकारी

आइतबार, ३१ बैशाख २०८०, १३ : २७
भरतपुर महानगरपालिकाद्धारा १ सय २६ छात्राहरुलाई साईकल वितरण

भरतपुर । छात्रासँग मेयर कार्यक्रम अन्तरगत भरतपुरका १ सय २६ छात्राहरुलाई साईकल वितरण गरिएको छ । छात्राहरुलाई शिक्षाको पहुँच पुराउने उद्धेश्यले ०७६ सालदेखि यो कार्यक्रम लागु गरिएको थियो । आईतबार एक कार्यक्रका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छात्राहरुलाई साईकल वितरण गरिन् । महानगरपालिकाले ६ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राहरुलाई साईकल वितरण गरिएको महानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ ।

महानगरपालिकाले यस अघि २२ वटा वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको छ भने वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडि टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याईएको बताइन् ।

प्रमुख दाहालले छोरीहरुले घरमा गर्नुपर्ने कामहरु धेरै हुने र विद्यालय जान ढिलो हुने भएकाले साईकल वितरण गरिएको उल्लेख गरिन् । महानगरपालिकाले अति विपन्न परिवारका छात्राहरुलाई विद्यालय शिक्षामा पहुँच पु¥याउने उदेश्यले कक्षा ६ देखि १२ कक्षाका किशोरीहरुलाई साईकल वितरण गर्दै आएको छ । महानगरपालिका प्रमुख दाहालले भरतपुर पूर्वाधारको क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताइन् । यो ६ वर्षको अवधीमा ८ हजार विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा वृद्धि गर्न सफल भएको जानकारी दिइन् ।

नारायणी मावि जस्तै भरतपुरका अन्य विद्यालयमा पनि आकर्षण बढाउन विभिन्न छात्रावृतिका कार्यक्रम, न्यानो कपडाको कार्यक्रम, दिवा खाजा, विद्यालयलाई बसलगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको बताइन् ।प्रमुख दाहालले साईकल प्राप्त गर्ने विद्यार्थीलाई दुरुपयोग नगर्न र उज्जवल भविष्यको कामना पनि गरिन् । 

प्रतिक्रिया दिनुहोस