'सकारात्मक परिवर्तनका लागि शिक्षा’

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १८ : ४८
'सकारात्मक परिवर्तनका लागि शिक्षा’

भक्तपुर । शिक्षा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले यही उद्देश्यलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको नवआगन्तुक विद्यार्थीको स्वागतमा शनिबार गरेको कार्यक्रमका वक्ताहरुले शिक्षालाई व्यापार बनाउन नहुने बताए । 

राष्टिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला)ले शैक्षिक संस्थाहरु व्यापार गर्ने थलो नभएको बताए । प्रमुख अतिथि माइलाले शैक्षिक संस्थाहरु नै इमान्दार नभएपछि अरु क्षेत्रहरु इमान्दार हुन नसक्ने बताए । कति शैक्षिक संस्थाहरु शिक्षा दिनुभन्दा पनि धन कमाउने उद्देश्यले खोलिएको चर्चा गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । यही कारण आफना नानीहरु भर्ना गर्दा स्कुलको बोली होइन, व्यवहार हेर्न उनले अनुरोध गरे ।

भक्तपुर नगरपालिका नगर शिक्षा प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगरपालिकाले नयाँंवर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरी त्यही अनुसारको वार्षिक शैक्षिक योजना सार्वजनिक गरिसकेको जनाए । शिक्षा विकास तथा समन्वय एकाई (पहिलाको जिल्ला शिक्षा कार्यालय) का प्रमुख रमेशप्रसाद मैनालीले ससाना नानीहरुको पहिलो शिक्षा स्कुलबाट नै पाउने भएकोले संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले असल बन, असल गर भन्ने मूल नारालाई आत्मसाथ गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको जनाए । कार्यक्रममा स्कुलका छात्रछात्राहरुले साँंस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए । साथै अन्य विभिन्न खेलहरु पनि देखाइएको थियो ।