मौद्रिक नीतिको समीक्षामा महासंघको टिप्पणी : तत्काल बजार चलायमान हुने देखिएन

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १६ : २१
मौद्रिक नीतिको समीक्षामा महासंघको टिप्पणी : तत्काल बजार चलायमान हुने देखिएन

काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदर घटाउनेलगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ । तर मौद्रिक नीतिका समीक्षाबाट गरिएको व्यवस्थाले बजार चलायमान हुन सक्ने अवस्था नरहेको महासंघले टिप्पणी गरेको छ ।

“समीक्षाले खराब कर्जाको जोखिम, बढ्दै गएको मुद्रास्फीति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरे पनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्यून छ”, मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै महासंघले भनेको छ ।आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीमा कर्जाको साँवाब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको भन्दै राष्ट्र बैंकले आंशिक रुपमा ऋणको पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिएको छ ।

 

होटल तथा रेस्टुरेन्ट, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० साल असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । तर यसमा उत्पादन मूलक क्षेत्र छुटेको महासंघले जनाएको छ ।राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर घटाए पनि कर्जाको ब्याजदर तत्काल घट्नसक्ने अवस्था नरहेको महासंघको ठहर छ । “समीक्षामार्फत बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरिएको छ । यसबाट सैद्धान्तिक रुपमा ब्याजदर घट्ने अपेक्षा गरिन्छ”, महासंघले भनेको छ, “तर बैंकर्स संघले आगामी महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरिसकेको हुँदा तत्काल कर्जाको ब्याजदर घट्ने सम्भावना न्यून देखिन्छ ।”​

 

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्ने प्रयोजनाका लागि स्रोत (निक्षेप)का रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मका लागि निरन्तरता दिएको छ । यो व्यवस्थाबाट बैंकहरूलाई कर्जा प्रवाह गर्न प्रेरित गर्ने भए पनि दीर्घकालीन समाधान भने दिन सक्ने महासंघले जनाएको छ ।पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीहरुले पुनर्कर्जा सुविधा पाउने व्यवस्था मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरिएको छ । यो व्यवस्थाअनुसार उद्योग, निर्माण र व्यापार क्षेत्रसँग सम्बन्धित व्यवसायले सुविधा पाउनेछन् । 

 

तर व्यापार क्षेत्रलाई नकारात्मक सूचीमा राख्न सक्ने सम्भावना पनि रहेको हुँदा मर्का परेका सबैलाई सुविधा दिइनुपर्ने माग महासंघको छ । ऋणात्मक भएका मात्र नभई अन्य न्यून वृद्धि भएका क्षेत्रहरु पनि समस्यामा रहेको हुँदा सबै क्षेत्रलाई उक्त सुविधा उपलब्ध गराउनुपर्ने उसको भनाइ छ ।चालुपूँजी कर्जा मार्गदर्शन २०७९ मा रहेको वार्षिक रुपमा सात दिनसम्म शून्य बक्यौता कायम गर्ने लगायतका व्यवस्था पुनरावलोकन गर्न महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । त्यसैगरी, चालु पूँजी कर्जाको सीमा २५ प्रतिशतमात्र गरिनु अव्यावहारिक रहेकाले यसलाई हटाउनुपर्ने महासंघको माग छ ।

प्रतिक्रिया दिनुहोस