घरेलु मैदानमा ५७ प्रतिशत खेल हार्दै टोली, ओरेन्ज क्यापमा ओपनरको वर्चस्व : आईपीएल

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १३ : ४३
घरेलु मैदानमा ५७ प्रतिशत खेल हार्दै टोली, ओरेन्ज क्यापमा ओपनरको वर्चस्व : आईपीएल

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा लिग चरणका आधा खेल सकिएका छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले शीर्ष स्थानमा रहँदै सबैलाई चकित पारेको छ भने हैदरावाद र दिल्ली कमजोर टोली साबित भइरहेका छन्।उद्घाटन खेलहरू उच्च स्कोरिङ थिए। अहिले भने स–साना लक्ष्यको पनि रक्षा भइरहेको छ । अधिकांश खेलमा नतिजाका लागि अन्तिम ओभरसम्म पर्खनु परिरहेको । ३ वर्षपछि घरेलु र अवे आधारमा लिग हुँदैछ तर टोलीहरूले घरेलु मैदानमा ५७.१४% खेल हारेका छन् । अधिकांश टिमले टस जितेर पहिले बलिङ गर्ने गरेका छन् तर ४२.८६ प्रतिशत खेलमा मात्रै सफलता पाइरहेका छन् ।

 

ओरेन्ज क्यापमा ओपनरको वर्चस्व

साई सुदर्शन र तिलक वर्मा जस्ता मध्यक्रमका युवा ब्याट्सम्यान आईपीएलको प्रारम्भिक खेलहरूमा सबैभन्दा धेरै रन बनाएर ओरेन्ज क्याप जित्ने दौडमा थिए। अब आईपीएलको आधा खेल सकिएपछि ओरेन्ज क्यापमा ओपनिङ ब्याट्सम्यानको पूर्ण वर्चस्व छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का ओपनर फाफ डु प्लेसिस ४ सय ५ रन बनाएर शीर्ष स्थानमा छन् ।उनी पछि चेन्नईका डेभन कोनवे, दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नर, गुजरात टाइटन्सका शुभमन गिल र बैंग्लोरका विराट कोहली छन् । रोचक कुरा के छ भने यी सबै खेलाडी ओपनर हुन् । यी ५ खेलाडीपछि पनि ओरेन्ज क्याप जित्ने दौडमा ऋतुराज गायकवाड, केएल राहुल, भेंकटेश अय्यर, ग्लेन म्याक्सवेल, जोस बटलर र काइल मेयर्स जस्ता शीर्ष क्रमका ब्याट्सम्यानहरू अगाडि छन् ।

म्याक्सवेलले हरेक छैटौँ बलमा छक्का प्रहार गरिरहेका छन्

२०-२० ओभरको खेलमा ठुला प्रहार र कम बलमा बढी रन बनाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। विशेष कुरा के छ भने प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी स्ट्राइक रेट भएका खेलाडीमा भारतीयको हाबी रहेको छ । चेन्नईका अजिंक्य रहाणे हाल १९९.०४ को स्ट्राइक रेटका साथ शीर्ष स्थानमा छन्, जबकि कोलकाताका शार्दुल ठाकुर, चेन्नईका महेन्द्र सिंह धोनी र राजस्थानका ध्रुव जुरेल पनि यो सूचीमा परेका छन्। ती सबैको स्ट्राइक रेट १८८ भन्दा बढी छ।

 

आरसीबीका ग्लेन म्याक्सवेल १८८.८० को स्ट्राइक रेटका साथ यो सूचीमा चौथो नम्बरमा छन्। तर, छक्का प्रहार गर्ने सूचीमा उनी आफ्नो टोलीका कप्तान डु प्लेसिसपछि दोस्रो स्थानमा छन् । डु प्लेसिसले २५ र म्याक्सवेलले २३ छक्का प्रहार गरेका छन् । यति मात्र होइन, म्याक्सवेलले प्रत्येक छैटौँ बलमा छक्का प्रहार गरिरहेका छन् ।लखनउका निकोलस पूरनले अहिलेसम्म जम्मा १५ छक्का प्रहार गरिसकेका छन् तर उनले पनि लगभग हरेक छैटौँ बलमा छक्का पनि प्रहार गरेका छन् । कम बलमा छक्का प्रहार गर्ने म्याक्सवेल, पूरन, शिमरोन हेटमायर र रिंकु सिंह जस्ता खेलाडीहरू अहिले आईपीएलमा आफ्नै बलमा खेल जित्दै छन्।

 

ब्रुकको सिजनको पहिलो शतक

सनराइजर्स हैदरावादका सबैभन्दा महँगा खेलाडी ह्यारी ब्रुकले आईपीएलको १६ औँ सिजनको पहिलो शतक प्रहार गरेका छन् । उनले इडेन गार्डेन मैदानमा कोलकाताविरुद्ध ५५ बलमा नटआउट १०० रन खेलेका थिए । उनी बाहेक कोलकाताका वेंकटेश अय्यरले मात्र यो सिजन शतक बनाउन सकेका छन् । अय्यरले मुम्बईमा मुम्बई इन्डियन्सविरुद्ध ५१ बलमा १०४ रनको इनिङ्स खेलेका थिए ।यी २ खेलाडीबाहेक यो सिजन अहिलेसम्म कुनै पनि खेलाडीले शतक बनाउन सकेनन् । पञ्जाबका शिखर धवन र चेन्नईका ऋतुराज शतकको नजिक पुगे पनि शतक बनाउन सकेनन् ।

पर्पल क्यापको सूचीमा रसिद शीर्ष स्थानमा

प्रतियोगितामा सर्वाधिक विकेट लिएर पर्पल क्याप जित्ने दौडमा गुजरातका राशिद खान शीर्ष स्थानमा छन्। उनले ७ खेलमा १४ विकेट लिएका छन् भने यो सिजनको एकमात्र ह्याट्रिक पनि छ । उनले कोलकाता नाइट राइडर्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।रसिद बाहेक पर्पल क्यापको सूचीमा भारतीय खेलाडीको दबदबा छ । शीर्ष १० मा ८ भारतीय छन् । जसमा आरसीबीका मोहम्मद सिराज र पञ्जाबका अर्शदीप सिंहले १३–१३ विकेट लिएका छन् । पर्पल क्यापको शीर्ष १० खेलाडीको सूचीमा ११ विकेट लिएर लखनउका मार्क वुड एकमात्र विदेशी खेलाडी हुन्।

पावरप्लेमा सिराज-बोल्ट खतरनाक

टी–२० खेलमा बलरको रूपमा विकेट लिनुका साथै डट बल, मेडन ओभर र पावरप्लेमा विकेट लिनु निकै महत्त्वपूर्ण हुन्छ । डट बलहरूले ब्याट्सम्यानहरूलाई दबाब दिन्छ र उनीहरूले ठुला शटहरू खेल्ने प्रयासमा आफ्नो विकेट गुमाउँछन्। आईपीएलको यो सिजनमा सबैभन्दा धेरै डट बल गर्ने शीर्ष ५ खेलाडीमा पेसर्स अगाडि छन् ।आरसीबीका सिराज ८९ डट बलसहित पहिलो र गुजरातका मोहम्मद शामी ८८ डट बलसहित दोस्रो स्थानमा छन् । योसँगै सिराज पावरप्ले ओभरमा विकेट लिने मामिलामा राजस्थानका ट्रेन्ट बोल्टसँगै शीर्ष स्थानमा छन् । दुवैले अहिलेसम्म पहिलो ६ ओभरमा ७–७ विकेट लिएका छन् ।

वुडले मात्र ५ विकेट लिन सके

प्रतियोगिताको एक खेलमा सबैभन्दा बढी विकेट लिने क्रममा लखनउका मार्क वुड शीर्ष स्थानमा छन् । उनी प्रतियोगितामा एक खेलमा ५ विकेट लिने एकमात्र खेलाडी हुन् । उनीपछि ७ खेलाडीले खेलमा ४ विकेट लिए पनि कुनै पनि खेलाडीले ५ विकेटको आँकडा पार गर्न सकेनन् । वुड र सिराजबाहेक ३ स्पिनर पनि उत्कृष्ट बलिङका साथ शीर्ष ५ खेलाडीमा परेका छन् ।

 

चेन्नईले सबैलाई चकित बनायो

चेन्नईले सुरुवाती ४ मध्ये २ खेलमा हार बेहोरेको थियो । उसले आफ्नो घरेलु मैदानमा पनि एक खेल हारेको थियो तर अन्तिम ३ खेलमा टोलीले उत्कृष्ट पुनरागमन गर्दै सबै खेल जितेको थियो । चेन्नईको हालको फर्म बाँकी टोलीहरूमध्ये उत्कृष्ट छ र टोली ७ खेलमा ५ जितपछि १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।गुजरात पनि १० अंकसहित दोस्रो स्थानमा छ, तर उसले आफ्नै घरेलु मैदानमा केही खेलहरूमा हार बेहोरेको थियो। यी बाहेक बेंगलुरु, दिल्ली र पञ्जाबले आफ्ना सुरुवाती खेलहरू हारेर पछिल्ला केही खेलहरूमा जितसँगै फर्केका छन्।तर हैदरावाद, दिल्ली र कोलकाता यस सिजनको अहिलेसम्मकै खराब टोलीहरू मध्येका हुन्। हैदरावादले पछिल्ला ३ खेलमा हार बेहोरेको छ भने कोलकाताले पछिल्ला ४ खेलमा हार बेहोरेको छ। दुवै टोली ४–४ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छन् ।

१६ पटक २ सयभन्दा बढी रन

आईपीएलको यो सिजन पनि उच्च स्कोरिङ भइरहेको छ । ३५ खेलको ७० इनिङ्समा १६ पटक २०० भन्दा बढी रन बनेका छन् । चेन्नईले कोलकाता विरुद्ध बनाएको २३५ रन प्रतियोगिताको हालसम्मको उच्चतम स्कोर छ। चेन्नईले अहिलेसम्म ३ पटक २ सयभन्दा बढी रन बनाएको छ र तीनै पटक जितेको छ।लखनउ र कोलकाता नाइट राइडर्सले मात्र अहिलेसम्म २०० भन्दा बढी रनको लक्ष्य पछ्याएका छन् । लखनउले बेंगलुरु र कोलकाताले गुजरातविरुद्ध यो उपलब्धि हासिल गरेको हो । १० टोलीले मिलेर १००७ चौका र ५३१ छक्का प्रहार गरेका छन् ।

लक्ष्य पछ्याउन सकस

आईपीएलमा प्राय: टस जित्ने टोलीले बलिङलाई प्राथमिकता दिन्छन् । यसपटक पनि ३५ खेलमा टस जित्ने टोलीले ३१ पटक चेज गर्न रुचाएका छन् । तर यसले खेलको नतिजामा खासै फरक परेन । किनभने ३५ खेल मध्ये ५७.१४% मात्र पहिले ब्याटिङ गर्ने टोलीहरूले जितेका थिए । पछ्याउने टोलीले १५ खेलमा मात्रै सफलता पाएका छन् ।

 

अन्तिम ओभरमा ८ पटक लक्ष्य पछ्याइयो

उच्च स्कोरका खेलहरूसँगै, आईपीएलले धेरै रोमाञ्चक खेलहरू पनि देखिएका छन् जुन अन्तिम ओभरसम्म गएका छन् । कोलकाताका रिंकु सिंहले अन्तिम ५ बलमा ५ छक्का प्रहार गर्दै जित दिलाए भने ८ विकेट बाँकी रहँदा लखनउको टोलीले अन्तिम ३६ बलमा ३१ रन बनाउन सकेन ।सिजनमा अहिलेसम्म ११ पटक १५ रनभन्दा कमको अन्तरले टोलीले खेल हारेका छन्। जसमध्ये ७ पटक जितको अन्तर ९ रनभन्दा कम थियो । पछ्याउने क्रममा ८ पटक अन्तिम ओभरमा टिमले जितेको थियो भने ३ खेल अन्तिम बलमा सकिएको थियो । अर्थात् ३५ मध्ये १९ खेल निकै रोमाञ्चक थिए, जसले अन्तिम ओभरसम्म दर्शकको श्वास रोकेको थियो ।

घरेलु मैदानमा खेल हार्दै टोलीहरू

आईपीएलको १५ वर्षमा घरेलु र अवे ढाँचाको प्रतियोगिता हुँदा घरेलु टोलीले फाइदा उठाएका छन् । तर यसपटक घरेलु टोलीले धेरै खेलमा हार बेहोर्नु परेको छ । अहिलेसम्म खेलेका ३५ खेलमा घरेलु टोलीले २० खेलमा हार बेहोरेका छन् । घरेलु मैदानमा १५ पटक मात्रै टोलीले जित हासिल गरेको छ । घरेलु टोलीले १७ मध्ये १६ पटक टस जितेर ब्याटिङको लक्ष्य पछ्याए पनि ६ पटक मात्रै जितेका छन् ।

चेपाक स्टेडियमलाई आफ्नो गढ बनाएको चेन्नईले पनि १४ वर्षपछि राजस्थान रोयल्ससँग आफ्नै घरमा हार बेहोरेको थियो । यसबाट यो स्पष्ट हुन्छ कि यस पटकको आईपीएलमा घरेलु टोलीले खासै फाइदा लिन सकेका छैनन् । घरेलु मैदानमा, बैंगलोरले अहिलेसम्म आफ्नो घरेलु मैदानमा ७ मध्ये सबैभन्दा बढी ५ खेल खेलेको छ, तर २ पटक पराजय पनि बेहोरेको छ ।बुधबार बैंग्लुरु–कोलकाताबीचको ३६औँ खेलपछि प्रतियोगितामा ३४ लिग चरणका खेलहरू बाँकी छन् । सबै टोली प्लेअफको दौडमा यथावत् रहेकाले प्रतियोगिताको उत्साह कायमै छ । प्रतियोगिता कसरी टुङ्गिन्छ, मे २३ देखि सुरु हुने प्लेअफमा कुन ४ टोली पुग्छन् र मे २८ मा हुने फाइनलमा कसले जितेर ट्रफी उचाल्छन्, त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस