हुम्लाको खार्पुनाथमा किसानलाई तरकारी बीउ वितरण

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, ११ : ०९
हुम्लाको खार्पुनाथमा किसानलाई तरकारी बीउ वितरण

हुम्ला । हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो ।सबै घरधुरीलाई आयआर्जनमा वृद्धि गर्न तरकारीका कीट सहयोग गरेको वडाध्यक्ष भरतजङ्ग शाहीले बताए । उनले वडाभित्रका सबै तीन सय ६३ घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गरिएको जानकारी दिए ।

स्थानीयलाई राजस्वको दायरामा ल्याउनका लागि वडामा वितरण गरिएका सातै प्रकारका बीउका लागि वडाले रु १० लिएको वडाध्यक्ष शाहीले बताए । काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ र सागका बीउ रहेका छन् ।उक्त वडाबाट सदरमुकाम सिमकोटमा समेत तरकारी आपूर्ति हुने गर्छ । वडाध्यक्ष शाहीले विभिन्न समयमा आफ्ना वडावासीलाई आवश्यकतानुसार कम्मल, खाद्यान्नलगायत सहयोग गर्दै आएका छन् ।