भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।
जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ ।
समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनको भनाइ छ ।
कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिए । फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उनी बताउँछन् । उनले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको बताए ।
पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ ।
परम्परा र संस्कृति बचाउन देवाली थान संरक्षणमा लगानी
हतुवागढी गाउँपालिका–१ घोडेटारले स्थानीय संस्कार तथा संस्कृतिको संरक्षणमा सक्रिय पहल थालेको छ ।
पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित वडाले विभिन्न सांस्कृतिक धरोहरहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको हो ।
स्थानीयले मान्दै आएको परम्परागत संस्कृतिलाई पुनर्जीवन दिने लक्ष्यका साथ खप्तरी बस्नेत समुदायसँग सम्बन्धित ‘देवाली थान’को संरक्षण कार्य अघि बढाइएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले जानकारी दिए । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उक्त थानको संरक्षणले स्थानीय पहिचान जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ
वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
सप्तरीका किसान चैते धान रोप्न व्यस्त
घोषणापत्रमा मलैमल, किसानलाई सास्ती पलैपल
पशुपालक किसानलाई आत्मनिर्भर बनाउन अनुदान
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा