संकटको बेला सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : गगन थापा

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १६ : ४०
संकटको बेला सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । 

महामन्त्री थापाले भने– ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो मन्त्री वा प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । ऊसलाई भ्याईनभ्याई हुनुपर्दछ । त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नुपर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ ।’ 

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३÷४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो । ‘यो सरकारमा बस्ने साथीहरुले गर्ने काम हो । हामी अहिले सरकारमा छौं । कांग्रेस सरकारमा छ । तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं । यहाँ बसेर हामीले परिणाम दिने हो’ थापाले भने, ‘यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अवको ३÷४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठिक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ ।’

महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र शुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । थापाले भने, ‘हामी जेष्ठको अन्तिम साता दिन काँग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं । त्यसमा व्यापक रुपमा छलफल गरौं । र, यो साललाई काँग्रेसको सुद्धिकरण र काँग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं ।’ ‘मेरो खाली तपाईंहरुलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ । त्यसको प्रभाव मकवानपुर कांग्रेसलाई नपरोस् । त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरुलाई हटाएर सबै तहका सम्मेलनहरु हुनुपर्छ’ उनले भने, ‘भातृ संस्था सबैलाई सम्मेलन गरेर सबैलाई सुदृढ बनाएर पार्टीभित्र बन्द कोठामा बसेर, छलफल गरेर बाहिरका मानिसहरुलाई हाम्रो पार्टीमा खेल्न नदिनका लागि एकढिक्का बनाउनुपर्छ । २०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरु गरौं ।’ 

प्रतिक्रिया दिनुहोस