देशभरका विभिन्न भागमा डढेलोको कारण वायु प्रदूषण

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १४ : ३३
देशभरका विभिन्न भागमा डढेलोको कारण वायु प्रदूषण

काठमाडौं । देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ ।तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ । चितवन, पर्सा प्युठान लगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ ।पाल्पाका ७, दाङका ६ र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ ।डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन्। एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ । २०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन ।वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ ।

 

‘यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएको छ । प्रदूषणको बढ्दो स्तरका कारण तपाईं हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किनुहुन र सबै नागरिकले घर बाहिर निस्किंदा विशेष सावधानी अपनाउनु हुन अपिल गरिन्छ,’ विभागले भनेको छ ।वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आमसमुदायलाई विभागले आग्रह गरेको छ ।फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न र वायु प्रदूषण मौसममा पनि भर पर्ने तथा डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस