अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, १७ : १४
अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन ।  भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गरे ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् ।

जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन्। संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको धारणा राखिन् । जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताइन् ।

जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सामाजिक क्षेत्रहरु शिक्षा, स्वास्थ्य, समानुपातमा समावेशी सशक्तिकरणका कार्यक्रमहरु पछिल्लो ०६२र०६३ को परिवर्तनपछि बढी नै उठेर आएको उल्लेख गरिन् । जातीय विभेदको सोचलाई पछिल्लो पुस्ताले मिहिनेत गरी हटाउन पर्ने उनले बताइन्। यो चिन्तन सजिलै पढेर, लेखेर नजाने उनको भनाई थियो ।

महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनलाई सहज बनाउन २ वर्षअघि देखि नीतिगत व्यवस्था गरिएको उल्लेख गरिन् । अन्तरजातीय दाम्पितीले समाजमा खेलेको परिवर्तनको भूमिकालाई कदर गर्दै यो कार्यक्रम गरिएको बताइन् । महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने दुई वर्षमा ३र३ जोडीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस