पर्वत । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टा भन्दाबढी पैदल हिँड्न बाध्य भएका छन् ।
पर्वतको महाशिला गाउँपालिका(४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्नका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाधयता छ । पाखापानीमा माध्यमिक विद्यालय तीन वटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययन गर्नका लागि टाढा जानुपरेको हो ।
लामतुनमा रहेको जनविकास मावि पुग्न पाखापानीका सिम्ले, भण्डारी थर, कोखे, चौडिल्ला लगायतका बस्तीबाट बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढेपनि प्लस टु अध्ययनका लागि लामो बाटो हिँड्नु परेको कक्षा १२ मा अध्ययनरत भण्डारी थरका राहुल भण्डारीको भनाइ छ ।
विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको गुनासो गरिन्। उनले भनिन्, “नजिकमा विद्यालय भएको भए बिहानभरी पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो, तर टाढा हुँदा न त बिहान पढ्ने समयनै हुन्छ नत घरको काम गर्ने ।”
विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष पुरन मल्लल बताए। “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, मल्लले भने।
“भीरको बाटो हुँदै विद्यालय जानुपर्ने भएकाले हावाहुरी चल्दा बालबालिकालाई उडाउने डर हुन्छ । त्यस्तै बर्षात्मा पहिरोको डरले अभिभावकलाई पिरोल्ने गर्छ”, विद्यार्थी सिर्जना क्षेत्रीले भनिन्, “कहिलेकाहीँ साथी नपाउदा एक्लै जान डर लाग्छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उनले गुनासो गरिन्। दैनिक तीन घण्टा भन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राध्यानाध्यापक चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीका लागि थोरै समय कुर्ने गरेको बताए। उनले भने, “विद्यार्थी आइसकेपछि मात्र पठनपाठन सुरु गर्ने गरेका छौँ, नजिकका विद्यार्थी चाँडो आए पनि टाढाबाट आउनेलाई केही समय पर्खने गरेका छौँ”, क्षेत्रीले बताए। वडामा यो मात्रै प्लस टु पढाउने विद्यालय भएकाले विद्यार्थीको सङ्ख्या पनि धेरै रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ चैत्र २०७९, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन