सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने ।
प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नुपरेको उनको भनाइ छ । प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।
सापट मागेर बिरामीको उपचार
केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ । अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताए । यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउँछन् ।
रुघाखोकीका बिरामी बढ्दै
जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।
“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भएपनि शय्याको अभाव हुन थालेको छ”, उनले भनिन् । सङ्ख्या बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताइन् । प्रदेश सरकारबाट उपलब्ध रू १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताए । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण