गलकोट । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनाबाट लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको छ ।निसीखोला गाउँपालिका–१ किटेनीका वीरबहादुर विक फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे ।
गाउँपालिकाले फागुनबाट लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए । उनी मात्र होइन, यतिबेला निसीखोला गाउँपालिकाले फागुनबाट लागू हुने गरी बीमा गरेका एक हजार आठ सय ३८ जना सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाले बीमा गरिदिए पनि बीमा रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवा लिनबाट बञ्चित भएका हुन् ।
गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय घरधुरीका लागि राजस्व बाँडफाँटबाट रु दुई करोड विनियोजन गरेको थियो ।
पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो । जसमध्येबाट गाउँपालिकाले फागुनबाट लागू हुने गरी एक हजार आठ सय ३८ जनाको बीमा गरेको थियो । तर गाउँपालिकाले हालसम्म पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधा लिनबाट बञ्चित भएका हुन् ।
सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा बीमा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरिदिएको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । सङ्घीय सरकारबाट केही दिन पहिले मात्र रु ५५ लाख रकम प्राप्त भएको एक हप्तामा रु एक करोड भुक्तानी गर्ने तयारी गरिसकेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने