स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्ने माग

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १६ : ३६
स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्ने माग

काठमाडौँ । लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने माग गरेको छ । मोर्चाले आफ्नो अवधारणा सार्वजनिक गर्दै सो माग गरेको हो ।वर्तमान मिश्रित निर्वाचन प्रणालीमा विभिन्न विकृति देखिएको उल्लेख गर्दै मोर्चाले स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने माग गरेको हो ।

मोर्चाका एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनु पर्ने माग गरे ।यस्तै मोर्चाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग पनि गरेको छ । यस्तै मोर्चाले युवाहरूको निमित्त स्वदेशमै रोजगार, कृषि क्षेत्रको प्रतिफलमूलक सुधारजस्ता कुरामा पनि जोड दिएको छ । मोर्चाले नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको दाबी गर्दै कानुन बनाउन माग गरेको छ ।

संघीय संसद्को दुवै सदनबाट दुई पटक पारित भई २०७९ भदौ २० मा राष्ट्रपति समक्ष प्रमाणीकरणको निमित्त पठाइएको नेपाल नागरिकता ऐन, २०६३ राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल प्रमाणीकरणको कार्य पूरा नगरिएपछि संविधानको मर्म अनुसार सो विधेयक स्वतः प्रमाणीकरण भएको मोर्चाले दाबी गरेको हो। 

प्रतिक्रिया दिनुहोस