कांग्रेसले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १३ : ५२
कांग्रेसले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने

काठमाडौँ । सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने भएको छ । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।

आज सत्ता गठबन्धनको बैठक बसेर सरकार विस्तारबारे सहमति गर्ने तयारी छ । सहमति भएमा भोली (बुधबार)सम्म मन्त्रिमण्डल विस्तार हुने र अर्थमन्त्रीको जिम्मेवारी डा. महतले पाउने लगभग निश्ति भएको बताइएको छ ।

प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रबीच अर्थ मन्त्रालय कांग्रेसले लिने र गृह मन्त्रालय माओवादी राख्ने सहमति भएको छ । कांग्रेसभित्र अर्थमन्त्रीका लागि डा. मतलाई नै अघि सार्ने निर्णय भएको स्रोतले जनाएको छ ।

अमेरिकाबाट अर्थशास्त्र विद्यावारिधी गरेका डा. महत अर्थतन्त्रबारे राम्रो ज्ञान राख्ने नेतामा दरिन्छन् । संकटोन्मुख अर्थतन्त्र सम्हाल्ने चुनौती सरकार सामु रहेका बेला सक्षम अर्थमन्त्रीको खोजी भइरहेको छ । डा. महत आउने भएपछि यसले पुँजी (शेयर) बजारमा समेत सकारात्मक प्रभाव पार्ने अड्कल भइरहेछ । सोही कारण लगातार घटेको शेयर बजार आज बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस