भरतपुर महानगरमा ४ सय ७० बालबालिका बिद्यालय बाहिर

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, १५ : ०५
भरतपुर महानगरमा ४ सय ७० बालबालिका बिद्यालय बाहिर

चितवन । भरतपुर महानगरपालिकामा चार सय ७० जना बालबालिका बिद्यालय बाहिर रहेको एक तथ्यांकले देखाएको छ । कुनै न कुनै कारणबाट चार सय ७० जना बालबालिका बिद्यालय बाहिर रहेको तथ्यांकले देखाएको हो । जस मध्ये वडागत रुपमा हेर्दा सबै भन्दा बढी वडा न २८ मा ३१ जना र सबै भन्दा कम वडा न १० मा एक जना बालबालिका बिद्यालयको पहुँच भन्दा बाहिर रहेको देखिन्छ । बाकी अन्य वडाहरुमा भने यो सख्या सरदरमा समान देखिन्छ । यो तथ्यांक ४ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुमा मात्र गरिएको हो ।

आज भरतपुरमा भएको समावेशी शिक्षा परियोजनाको प्रगति तथा भावी कार्यक्रम सम्बन्धि जनप्रतिनिधिहरुसग गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्बजनिक गरिएको हो । कार्यक्रम भरतपुर महानगरको आयोजना तथा कमिटेड सस्थाको ब्यबस्थापनमा भएको हो ।

बेलायत सरकारको सहयोगमा संचालित अपाङगता समावेशी बिकास कार्यक्रम अन्तर्गत संचालित समाबेशी शिक्षा परियोजनाले भरतपुर महानगरपालिकामा गरेको एक अध्ययनका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 

भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले शिक्षाको लागी प्रत्येक वडाबाट कुल बजेटको दश प्रतिशत अर्थात २५ लाख रुपैयाँँ छुट्टाइएको जानकारी दिए । उनले केही वडाहरुले अझ बढी झण्डै ३२ लाख सम्म पनि बजेट छुट्टाउने गरेको पाइएको पनि बताए । 

समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।भरतपुर महानगरपालिकामा ८७ वटा स्कुल र कालिका नगरपालिकामा ३५ वटा स्कुलमा परियोजना लागू भएको छ । 

कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको छ । शिक्षा सम्बन्धि राष्ट्रिय नीतिहरुको बारेमा ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना ब्यबस्थापक सुशील बाबु खनालले प्रकाश पारे । साथै उनले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समाबेशी शिक्षा परियोजनाले हाल सम्म सम्पन्न गरेका विभिन्न क्रियाकलापहरुको बारेमा पनि प्रस्तुतीकरण गरेका थिए ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले शिक्षा र स्वास्थ्यमा भएको चरम लापरबाहीको अन्त्य हुन जरुरी रहेको बताए । शिक्षा र स्वास्थमा चरम लापरबाही छ, यसको अन्त्य तपाईं हामी बाटै गर्न जरुरी छ रानाले भने । साथै भरतपुर महानगरले अपांगता भएकाहरुलाइ स्वरोजगार बनाउने गरि प्रक्रिया अगाडि बढाइरहेको पनि प्रष्ट पारे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका  भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले परियोजनाले देखाएको बाटोमा हामी सबै लाग्न जरुरी रहेको बताए । उनले अपांग बालबालिका रहित महानगर निर्माण गर्न आफुले जस्तोसुकै काम गर्न पछि नपर्ने पनि जिकिर गरे। उप प्रमुख अधिकारीले महानगर शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको समेत उल्लेख गरे । समावेशी शिक्षालाई व्यापक रुपमा लागू गर्न जनप्रतिनिधिहरुको मुख्य दायित्व रहेको भन्दै उनले आजको २१ औ शताब्दीमा शिक्षाको ज्योतिबाट कोहि पनि बन्चित हुन नपाउने तर्फ ध्यान पुर्‍याउन पनि आग्रह गरे । भरतपुर महानगरपालिकामा २८ हजार बालबालिका सामुदायिक बिद्यालयमा अध्ययनरत छन भने झन्डै दस वटा  सामुदायिक बिद्यालयमा समावेशी शिक्षा लागू भएको छ । 

कार्यक्रममा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समाबेशी शिक्षा परियोजनाको अवस्था,लक्षित बर्ग,भौतिक पहुँचको अवस्था,सुचकहरुको बर्तमान अवस्था र स्कुलहरुमा परियोजनाले पारेको प्रभावको बारेमा  पनि व्यापक छलफल भएको छ ।

यस अधि गत भदौ महिनामा समाबेशी शिक्षाका लागी पालिका स्तरीय रणनितिक योजना निर्माण कार्यदल गठन भइसकेको छ ।  भरतपुर महानगरपालिका वडा न १५ का अध्यक्ष श्रीकृष्ण देबकोटाको सयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । 

परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन ।  परियोजनाको अबधि तिन बर्ष जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस