टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर बराबरको सहयोग

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, १४ : २४
टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर बराबरको सहयोग

काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् ।साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् ।

रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।आफ्नो आम्दानीको केहि हिस्सा सामाजिक कार्यका लागि दान गर्दै आएका उनले यसअघि आफ्नो देश पोर्चुगलमा बालबालिकाको मस्तिस्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए ।

रोनाल्डोले सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका छन् । कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतारुलाई उनले १० लाख डलर सहयोगसमेत गरेका थिए ।रोनाल्डोको पछिल्लो सहयोगप्रति संसारभरका समर्थकहरुले सराहना गरेका छन् । रोनाल्डो साउदी लिगमा फेब्रुअरी महिनाका लागि प्लेयर अफ द मन्थसमेत चुनिएका थिए । यसका लागि ट्वीटरमार्फत उनले आफ्नो खुसी बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस