काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताए ।
केही दिन पहिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाएका थिए ।
सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताएका थिए । प्रधानमन्त्रीले मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमा समेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीका रूपमा असफल हुने छुट आफूहरूलाई नभएको भन्दै उनले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताए। आफूले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने उल्लेख गरे। निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उनले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १८ : ४२
लेखकबाट थप