नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ : आरजु राणा

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १४ : ५०
नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन । मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् ।

उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन् । उनले नेपाली सेनाको डेटाहरु आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् ।

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गरिन् । हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताइन्।

त्यस्तै, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेबिसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरुलाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताए । उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताए।

त्यस्तै, पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरुको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बताए । उनले कार्यक्रमले ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेण्ट, त्रिभुवन विश्वविद्यालयको ढिलो नतिजा प्रकाशन सम्बन्धीका बारेमा पनि समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको बताए ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरु समाधान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस