प्रदेशसभा सदस्यको मर्यादाक्रम मिलाउन ध्यानाकर्षण

रासस

सोमबार, २५ असार २०७५, २० : ५९
प्रदेशसभा सदस्यको मर्यादाक्रम मिलाउन ध्यानाकर्षण

धनगढी । प्रदेश नं ७ प्रदेशसभाका सदस्यले प्रतिनिधिसभाका सांसद (संघीय सांसद) भन्दा एक तह मुनी प्रदेशसभाका सदस्यको मर्यादाक्रम तोक्न प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेशसभाको आजको बैठकमा सामान्य छलफलका लागि प्रस्तुत प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा भाग लिने सदस्यले प्रदेशसभा सदस्य पनि विधायिकाको अधिकार प्राप्त जनप्रतिनिधि रहेको र प्रदेशसभाको गरिमा र महत्व बढाउन पनि प्रतिनिधिसभाका सदस्यभन्दा (संघीय सांसद) एक तह मुनी प्रदेशका सदस्यहरुको मर्यादाक्रम तोकिनुपर्ने जिकीर गरे । 

नेपाल सरकारको गत माघ महिनामा प्रकाशित नेपाल राजपत्रमा प्रदेशसभा सदस्यको मर्यादाक्रम चौधौँ नम्बरमा राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको मर्यादाक्रम आठौँ नम्बरमा र नेपाल सरकारका सचिव र विशिष्ट श्रेणीका अधिकृतलगायतको मर्यादाक्रम प्रदेशसभाका सदस्यभन्दा माथि एघारौँ नम्बरमा तोकिएको छ । 

प्रदेशसभा सदस्यले प्रतिनिधिसभाका सदस्य भन्दा एक तह मुनी आफूहरुको मर्यादाक्रम तोक्नुपर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरी प्रदेश सरकारलाई यस अघिका बैठकमार्फत् निर्देशसमेत गरेको थियो । 

आजको बैठकमा उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरी, अक्कलबहादुर रावल, गोविन्दराज बोहरा, कुमारी नन्दा बम, दुर्गाकुमारी कामी, प्रेमप्रकाश भट्ट, रतन थापा, वीरभान चौधरी र तारालामा तामाङले भाग लिएका थिए । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिं बोहराले प्रदेशसभाका सदस्यको सम्मान र सदनको गरिमाका लागि सरकार सचेत रहेको बताए । 

यसअघि बैठकको प्रारम्भमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास बोहराले उक्त विधेयकमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश रेका थिए । प्रदेशसभाको अर्को बैठक असार ३१ गते अपराह्न ३ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस