त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार सुरु

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, १९ : ५१
त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्वार तथा आधुनिकीकरण सुरु गरेको छ ।

२०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्वार तथा आधुनिकीकरण सुरु गरिएको छ ।

करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्वार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युतगृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरुलाई आधुनिक तथा स्वचालित बनाइने छ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरु गरिएको छ ।

साथै जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ ।

प्रतिक्रिया दिनुहोस