घनश्याम भुसाल भन्छन् : 'बामदेव गौतम र भीम रावल छिट्टै नेकपा एसमा आउनुहुन्छ'

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १० : ५९
घनश्याम भुसाल भन्छन् : 'बामदेव गौतम र भीम रावल छिट्टै नेकपा एसमा आउनुहुन्छ'

रुपन्देही । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमाले नेता भीमबहादुर रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।

मुलुकमा वाम धुव्रीकरणको आवश्यकता रहेको बताउँदै उनले अब त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने र यसमा धेरै कम्युनिष्ट नेताहरू जोडिने जनाए । बुटवलमा सो पार्टी निकट नेताहरूको कार्यक्रममा यस्तो बताएको नेता सिद्धिचरण भट्टराईले जानकारी दिए ।

‘अब एजेण्डाका आधारमा उहाँहरू अन्त जाने ठाउँ छैन, म त अन्त ठाउँ नभएर आएँ,‘यसैको सिलसिलामा वामदेवजी र भीमजीसँग वार्ता भइरहेको छ’, उनले भने । उनले समाजवादीलाई २१औँ शताब्दीको पार्टी बनाउने दाबी गरे । भुसालले विचार, सिद्धान्त र मुद्दाका आधारमा जनतालाई गोलबद्ध गर्दै कम्युनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका छन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालीन एमालेको नवौँ महाधिवेशनले पारित गरेको नीति, विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताए ।

उनले समाजवादी पार्टीको आफ्नै परिचयसहित स्थापित हुने बताए । उनले समाजवादी तत्काल कोही कसैसँग ढल्कने, टाँसिने गरी अगाडि नबढ्ने स्पष्ट पारे । उनले माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस