रोनाल्डो गोलविहीन रहँदा बाहिरियो ‘अल नसर’

एजेन्सी

शुक्रबार, १३ माघ २०७९, ०९ : १३
रोनाल्डो गोलविहीन रहँदा बाहिरियो ‘अल नसर’

एजेन्सी । विश्व कीर्तिमानी मूल्यमा अल नसर पुगेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ।

बिहीबार भएको सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि नसर फाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरियो। रोनाल्डो अल नसरमा लगातार दोस्रो खेलमा गोलविहीन रहन पुगे।

खेलमा अधिकांश समय बलमा पोसेसन राखेपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न असफल रह्यो। तर अल इतिहादले पाएका मौकालाई गोलमा परिणत गर्दा नतिजा आफ्नो पक्षमा पार्यो। १५ औँ मिनेटमानै इतिहादले रोमारिन्होको गोलमार्फत अग्रता लियो। उसले ४३ औँ मिनेटमा हम्दाल्लाहले अग्रता दोब्बर बनाउँदा पहिलो हाफमानै नसर २-० ले पछि रह्यो।

तर दोस्रो हाफमा नसर खेलमा फर्कने प्रयास गरेको थियो। ६७ औ मिनेटमा टालिस्काले गोल फर्काउँदै नसरलाई खेलमा राख्ने प्रयास गरे। तर इन्जुरी समयमा अलशान्कितिले इतिहादका लागि तेस्रो गोल गर्दा रोनाल्डोको अल नसर स्तब्ध बनेको थियो।

नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्नै मौका पाएपनि अन्तिम दुईमानै पुग्न असफल रह्यो। विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए। लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो। तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो।

बिहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हराएर फाइनलमा स्थान बनायो। अब सोमबार अल इतिहाद र अल फाएहाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस