चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १६ : ३३
चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रतिवद्धता जनाएका छन । नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए ।

संघले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तारका लागि पहल अघि बढाउन सरकारलाई सुझाव दिएको छ । संघले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेको भन्दै संघले नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्न माग गरेको छ । चिनियाँ नागरिक नेपाल भ्रमण गर्न इच्छुक भए पनि पर्याप्त संख्यामा हवाई उडान नभएकाले चीनका विभिन्न सहरबाट काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा उडानको व्यवस्था गर्न संघले माग गरेको छ ।

नेपाली वस्तुको चीनतर्फ निकासी वृद्धिका लागि भन्सार नाकामा रहेको कोटा प्रणाली हटाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने संघले प्रधानमन्त्रीसमक्ष माग राखेको छ । जवाफमा प्रधानमन्त्री दाहालले कोभिड महामारीपछि चीनले वाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको उल्लेख गर्दै त्यसबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माणका लागि पहल गर्ने उल्लेख गरे ।

उनले कोभिडयता कमजोर बन्दै गएको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनर्स्थापित गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस