नागरिकका सुझावहरु संसदमा सम्बोधन हुनुपर्छ : ओनसरी घर्ती

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १५ : ३५
नागरिकका सुझावहरु संसदमा सम्बोधन हुनुपर्छ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छन ।

मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताइन् ।

नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुलेसमेत समस्या व्यहोरिरहेको बताइन् । उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताइन् ।

पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरुले संसदमा गरिरहेका कार्यहरु हेर्न पाउनुपर्ने बताइन् । उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा घोट माग्न जानेकुरामा मात्रै सिमित हुनु नहुने बताइन् । उनले संसदमा जनगुनासाहरुको सम्बोधन हुनुपर्ने पनि बताइन् । उनले जनप्रतिनिधिहरुले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरुलाई झक्झकाइरहनुपर्ने बताइन्।

पूर्व सभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढीरहेको बताइन् । उनले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताइन् । उनले जनताको काम गर्न र संसदका गतिविधिहरुलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नु पर्ने बताइन् । उनले पछिल्लो समय भ्रष्टाचार बढीरहेको भन्दै सरकारको हरेक निकायहरु नै भ्रष्टाचारको संस्कार सिकिसकेको उल्लेख गरिन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौति रहेको बताइन् । नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासो गरिन् ।

पूर्व सभामुख घर्तीले सांसदको काम र भुमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको पनि बताइन्। उनले कानून निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफलहरु हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस