चीनका अस्पतालहरू कोरोना संक्रमितले भरिँदै

एजेन्सी

विहीबार, ०७ पुस २०७९, ०८ : ३६
चीनका अस्पतालहरू कोरोना संक्रमितले भरिँदै

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चीनका अस्पतालहरू कोरोना संक्रमितले भरिभराउ भएको बताएको छ।

डब्ल्युएचओका आपतकालीन प्रमुख डा। माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम हुँदै गए पनि सघन उपचार कक्षहरू (आइसियू) भरिएको जानकारी दिए। चीनको तथ्यांकले बुधबार कोभिडबाट कसैको पनि मृत्यु नभएको देखाएको छ। तर महामारीको वास्तविक प्रभाव भने शंकास्पद नै रहेको छ।

चीनमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि राजधानी बेइजिङ र अन्य सहरमा अस्पताल भर्ना हुने बिरामीको संख्या पछिल्ला दिनमा बढेको छ। चीनले तथाकथित शून्य कोविड नीति अन्तर्गत विभिन्न स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ।

तर, यो नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई हेरेर सरकारले दुई साताअघि केही नियमहरू पनि खुकुलो पारेको छ ।त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ। योसँगै वृद्धवृद्धामा मृत्युदर बढ्ने डर पनि बढेको छ। चीनको आधिकारिक तथ्यांकअनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ।

डा। रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रहसमेत गरेका छन्। उनले भने, ‘चीनमा आइसियूको संख्या निकै कम रहेको बताइए पनि यथार्थमा आइसियू भरिँदै गएको छ।’

‘हामी पहिलादेखि नै भन्दै आएका छौँ कि सार्वजनिक स्वास्थ्य र सामाजिक दूरीमार्फत् मात्रै यो अत्यधिक संक्रामक भाइरसलाई पूर्ण रूपमा रोक्न धेरै गाह्रो छ’, डा. रायनले थपे।

प्रतिक्रिया दिनुहोस